गण्डकी। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच घण्टाको उडानपछि फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।
दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत पहिलोपटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई स्वागत गर्न विमानस्थलमा विशेष तयारी गरिएको छ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण गरेसँगै पानीको फोहराले स्वागत गरिने जानकारी दिए। यात्रुको स्वागतमा सरकारी अधिकारी तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिलगायत सहभागी हुने उनले बताए।
“पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुको बिदाइ पनि गरिनेछ”, महाप्रबन्धक निरौलाले भने।
फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेको अवसरमा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई)का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधनका कारण रद्द गरिएको छ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले पहिलो चरणमा पोखराबाट दुबई जाने यात्रुलाई बिदाइ गरिने बताइन्।
नेपाल पर्यटन बोर्डको सहयोगमा दुबईबाट पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रुलाई विशेष उपहार प्रदान गरिने उनले जानकारी दिइन्। नाट्टामा आबद्ध व्यवसायी तथा होटल र रेष्टुराँ व्यवसायीले समेत उपहारसहित आफ्नो व्यवसायका प्रवर्द्धनात्मक सामग्री उपलब्ध गराउने उनले बताइन्।
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्षित विभिन्न छुट योजनाबारे समेत जानकारी गराइने अध्यक्ष पौडेलले बताइन्।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको बताए। यसबाट पोखराको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय आवागमन थप सहज हुने उनको भनाइ छ।
पोखरा–दुबई सीधा उडानले पर्यटकीय राजधानी पोखरामात्र नभई मुलुकको समग्र पर्यटन क्षेत्रलाई लाभ पुग्ने प्रमुख आचार्यले बताए।
नियमित उडान तालिकाअनुसार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे यात्रु तथा कार्गोसहित दुबईका लागि प्रस्थान गर्ने विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार उडान सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।
“एक साताअघिदेखि नै फ्लाई दुबईको टोली पोखरा आएर प्राविधिक अध्ययन गरेको थियो”, उनले भने, “विमानस्थलका तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको छ, अब जहाजको पर्खाइमा छौँ।”
यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन नसकेको उल्लेख गर्दै निरौलाले फ्लाई दुबईको उडानले नयाँ आशा जगाएको बताए।
उनका अनुसार पोखराबाट दुबई हुँदै युरोप, अमेरिका लगायत विभिन्न गन्तव्यमा जाने यात्रुलाई सहजता थपिनेछ भने यात्राअवधि छोटिँदा खर्चसमेत कम हुनेछ। विदेशी पर्यटकसमेत पोखराका पर्यटकीय क्षेत्रमा सिधै आउन सक्नेछन्।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयपछि फ्लाई दुबईले उडान सुरु गर्न लागेको हो।
दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो।
अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ। विसं २०८५ भदौ मसान्तसम्म विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ। यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।
फ्लाई दुबईको उडानलाई लक्षित गर्दै पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले समेत छुट योजना ल्याएका छन्। होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु तथा पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए।
“छुट योजनामा अहिलेसम्म ५० वटा होटल समावेश भएका छन्, यो सङ्ख्या अझै थपिन्छ”, उनले भने, “छुट दिनेमा पोखराका पर्यटकस्तरीय होटल छन्, कतिपय तारे होटल पनि छन्।”
आज साँझ पहिलो उडानबाट दुबई हुँदै पोखरा आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क उपलब्ध गराइने जनाइएको छ। पहिलो चरणमा तीन महिनाका लागि छुट योजना ल्याइए पनि त्यसपछि अवधि थप गर्न सकिने बताइएको छ।
रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ।
फ्लाई दुबईको उडान तालिकाअनुसार हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्नेछ।
विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको दुबईसँगको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको छ। फ्लाई दुबईले विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ।
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत दुबई–पोखरा–दुबई उडान सञ्चालन हुनेछ। यसबाट पोखराबाट अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरमा जाने यात्रुले एउटै टिकटमार्फत यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्न सहज हुने बताइएको छ।




