काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको संयुक्त राष्ट्रसंघको महासभा भ्रमणलाई लिएर प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीले असन्तुष्टि जनाएको छ ।
भ्रमणअघि संसदमा सम्बोधन गर्नुपर्ने तथा सर्वदलीय परामर्श लिनुपर्ने विगतको परम्परालाई बेवास्ता गरिएको भन्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रश्न उठाएका हुन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले प्रधानमन्त्रीको राष्ट्रसंघ भ्रमण राष्ट्रिय गौरव र पहिचानसँग जोडिएकाले यसका लागि व्यापक गृहकार्य आवश्यक रहेको बताए ।
‘राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाएर जाँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कद बढ्थ्यो, तर प्रधानमन्त्रीले सर्वदलीय परामर्श र पूर्वप्रधानमन्त्रीहरूसँगको अनुभव आदानप्रदान नगरी एकलौटी रूपमा जानु कमजोरी हो,’ उनले भने ।
प्रधानमन्त्रीले राष्ट्रिय सलामी नलिएको विषयमा समेत दुलालले टिप्पणी गरे । त्रिशूली बाढीका कारण घोषित शोकको सम्मानमा राष्ट्रिय सलामी नलिइएको हो भने त्यसलाई स्वाभाविक रूपमा लिन सकिने उनले बताए ।
तर राष्ट्रिय पहिचानका लागि यस्ता प्रोटोकल परम्परागत र महत्वपूर्ण हुने उनको भनाइ थियो ।
विगतको तुलनामा प्रधानमन्त्रीको भ्रमण टोलीको संख्या कटौती भएको विषयलाई भने सकारात्मक रूपमा लिनुपर्ने उनले बताए ।
दुलालले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा हुने ‘साइडलाइन’ वार्ताको महत्वमा समेत जोड दिए । नेपालको विकास साझेदार मुलुकहरूसँग द्विपक्षीय वार्ता नहुनु कूटनीतिक रूपमा कमजोरी हुन सक्ने उनले बताए ।
प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका प्राकृतिक विपत्ति तथा ‘क्लाइमेट जस्टिस’को मुद्दालाई संयुक्त राष्ट्रसंघीय मञ्चमा सशक्त रूपमा उठाउनुपर्नेमा उनले जोड दिए ।




