देश

‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधि सभाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेको राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले ग्रामीण अर्थतन्त्रको मुख्य आधार कृषि र पशुधन रहेकाले सङ्क्रामक पशु रोग फैलिनुअघि नै रोकथाम गर्न आवश्यक रहेको बताए।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले विधेयकले पशुपालक किसानले भोग्दै आएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

रास्वपाकी सांसद समिना मियाँले पशु स्वास्थ्यलाई मानव स्वास्थ्य र वातावरणीय स्वच्छतासँग जोडेर सङ्क्रामक रोग नियन्त्रण गर्नुपर्ने धारणा राखिन्।

सांसदहरू शोभा खनाल, गङ्गालक्ष्मी अवाल, माधवबहादुर थापा, मोहनलाल आचार्य, समीक्षा बास्कोटा, पुष्पाकुमारी चौधरी, गणेशबहादुर विश्वकर्मा, डा. ओजस्वी शेरचन, तारा विश्वकर्मा, गङ्गादेवी श्रेष्ठ, पार्वती विक, नीनुकुमारी कर्ण, भरतप्रसाद पराजुली, हरिमोहन भण्डारी, राजन गौतम र हरिप्रसाद भुसालले सङ्क्रामक पशु रोग नियन्त्रणका लागि विधेयक आवश्यक रहेको बताए।

प्रतिनिधि सभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बजे बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *