काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा ललिताकुमारीले युवाले भविष्य खोज्न विदेश जानु नपर्ने वातावरण बनाउन माग गर्नुभयो ।
लक्ष्मीप्रसाद पोखरेलले तारकेश्वरमा बालबालिका हराएकाले खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । लालविक्रम थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेका वाचा पूरा गर्न पार्टी नेतृत्वको सरकारले ध्यानाकर्षण गराउनुभयो । डा लेखजङ्ग थापाले जलवायु परिवर्तनसँगै बाढीको जोखिम बढिरहेकाले तिनाउ नदी उत्खनन रोक्न माग गर्नुभयो ।
विक्रम थापाले गत वर्ष भदौ २३ र २४ गते सहिद भएका वीर सपूत भएकाले तिनका विषयमा गरिने नकारात्मक टिप्पणी सह्य नहुने बताउनुभयो । विपिनकुमार आचार्यले सरुवा र बढुवा विधि एवं पद्धतिबाट हुने व्यवस्था गर्न स्वायत्त बोर्ड बनाउने नीति छिटो कार्यान्वयन गराउन माग गर्नुभयो ।
बोधनारायण श्रेष्ठले पृथ्वी राजमार्गको गल्छी क्षेत्रको भाग त्रिशूली नदीले कटान गरेकाले बनाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । शम्भुप्रसाद ढकालले झापाका युवासँग भएको पाँचबुँदे सहमति कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
शिवशङ्कर यादवले कमला पुल आर्थिक समृद्धिसँग जोडिएको विषय भएकाले छिटो गराउनुपर्नेमा जोड दिनुभयो । शोभा खनालले सडकको क्षमताअनुसार त्यहाँ चलाउनुपर्ने सार्वजनिक यातायात कति हो यसको निर्धारण गराउन माग गर्नुभयो ।
श्रद्धा कुँवर क्षेत्रीले कानुन कार्यान्वयनलाई सुधार गरिनुपर्ने बताउनुभयो । जेनजी आन्दोलका युवाको माग पनि कानुनको शासन भएको उहाँको भनाइ थियो । श्रीधर पोखरेलले भूमिहीनका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
श्रीराम न्यौपानेले अहिले भइरहेको मौसमबाट प्रभावित क्षेत्रमा सहज उद्धारको व्यवस्था गराउन माग गर्नुभयो । सन्तोष राजवंशीले सरकार गठन भएको छ महिना भइसकेको अवस्थामा निर्वाचन क्षेत्रमा जाँदा के गरेको छ भनी प्रश्न आएकाले रोजगारीको व्यवस्था गराउन माग गर्नुभयो ।
सलिम मियाँले प्रधानमन्त्रीको संयुक्त राष्ट्र सङ्घ महासभा भ्रमण तामझामरहित भएको बताउनुभयो । सांसद समीक्षा बास्कोटाले सरकारले सबै क्षेत्रमा सकारात्मक तवरले काम गरिरहेको देखिएको बताउनुभयो ।




