काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरूले पछिल्लो समय चामल, दाल, तेललगायत अत्यावश्यक खाद्य सामग्रीमा निरन्तर भइरहेको मूल्यवृद्धिले न्यून आय भएका नागरिकलाई दैनिक जीवनयापनमा समस्या परेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मीनासिंह रखालले मूल्यवृद्धिका कारण न्यून आय भएका नागरिकलाई समस्या परेको भन्दै तत्काल समाधानका लागि पहल गर्न सरकारसँग माग गरिन्।
सदस्य रामकुमारी झाँक्रीले पछिल्ला दिनमा विद्युतीय सवारीको प्रयोग र दुर्घटना दुवै बढिरहेको उल्लेख गर्दै त्यससम्बन्धी स्पष्ट नीति तथा कानुन आवश्यक रहेको बताइन्।
सदस्य रेखाकुमारी यादवले पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरिन्। पत्रकारले गलत समाचार प्रकाशित गरेमा कानुनी प्रक्रियामार्फत खण्डन गर्ने व्यवस्था हुँदाहुँदै आक्रमण गर्नु निन्दनीय भएको उनको भनाइ थियो।
सदस्य रोशनी मेचेले अर्थमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग भएको भेटवार्तामा नेपालको राष्ट्रिय झण्डा नराखिएको विषयमा सरकारसँग प्रश्न गरिन्।
सदस्य सम्झना देवकोटाले देशमा ६० वटा ग्यास भर्ने उद्योग रहे पनि एउटा उद्योगले अर्को उद्योगका सिलिन्डर नसाट्दा बजारमा समस्या उत्पन्न भएको विषयमा सदनलाई जानकारी गराइन्।
सदस्य सोमनाथ पोर्तेलले वर्तमान सरकारले दलित समुदायको परम्परागत पेसा प्रवद्र्धनका लागि विनियोजन गरिएको रु ५० करोडमध्ये रु ४० करोड रकमान्तर गरेको आरोप लगाए।




