काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी अनुशासनका हिसाबले एमाले कमजोर देखिएको स्वीकार गरेका छन्।
सोमबार एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने, अपलोड गर्ने तथा कमेन्ट गर्ने वा गराउने प्रवृत्ति स्वस्थ नभएको बताएका हुन्।
उनले पार्टीभित्रका विषयमा खुलस्त छलफल गर्नुपर्नेमा सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिने प्रवृत्तिले विरोधीलाई खेल्ने ठाउँ दिने बताए।
‘म आग्रह गर्छु, विरोधीले खेल्ने यस्ता ठाउँहरू दिनुहुँदैन। स्टाटस लेख्ने, अपलोड गर्ने अनि कमेन्ट गर्ने वा गराउने स्वस्थ तरिका होइन। खुलस्त छलफल पार्टीभित्र नै हुनुपर्छ,’ उनले भने, ‘अहिले अनुशासनमा कमजोर हाम्रै पार्टी देखिनु भनेको साह्रै दुःखलाग्दो कुरा हो।’
अध्यक्ष ओलीले सरकारको असक्षमता, अकर्मण्यता र राज्यका साधनस्रोतको दुरुपयोग जनताले देखेको दाबी गरे। उनले राज्यस्तरबाटै अफवाह फैलाइएको आरोपसमेत लगाए।
‘सरकारको असक्षमता, अकर्मण्यता र राज्यका साधनस्रोतहरूको दुरुपयोग आम जनताले देखेको छ। अफवाह कसरी राज्यस्तरबाट फैलाइयो, त्यो कुरा पनि देखिएको छ,’ उनले भने।
बेलिब्रिज निर्माणको उदाहरण दिँदै ओलीले सामानसमेत नआइसकेको अवस्थामा बेलिब्रिज निर्माण भइसकेको भनेर प्रचार गरिएको दाबी गरे।
यद्यपि, उनले विपद्का बेला बागमती प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा गरे।
‘बागमती सरकारलाई धन्यवाद भन्न चाहन्छु। बरु तत्काल तुइन हालेर औषधिदेखि सबैथोक ल्याएर जनताको साथमा छौँ भनेर साथ दिए,’ उनले भने।




