देश

हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे संसदीय विशेष समिति गठन

काठमाडौँ। प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को नियम १८० बमोजिम समिति गठनका लागि प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

समितिमा सांसद अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहेका छन्।

समितिले आफ्नो पहिलो बैठकबाट अध्यक्ष चयन गर्नेछ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण र भविष्यमा हुने जोखिम न्यूनीकरणका लागि आवश्यक उपाय पहिचान गर्नु समितिको उद्देश्य रहेको छ।

त्यस्तै, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशासम्बन्धी सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *