बागमती। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, हेटौँडामा १६ शय्याको अन्तरङ्ग सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
आयुर्वेद चिकित्साप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि चिकित्सालयले अन्तरङ्ग सेवा सुरु गर्न लागेको हो। सेवाका लागि आवश्यक पूर्वाधार तथा चिकित्सक उपलब्ध भए पनि नर्सिङतर्फका थप कर्मचारी आवश्यक रहेको चिकित्सालयका प्रमुख डा. अमूल्य दहालले जानकारी दिए।
अन्तरङ्ग सेवा सञ्चालनका लागि न्यूनतम चार जना नर्सिङ कर्मचारी आवश्यक पर्ने बताउँदै उहाँले जनशक्ति उपलब्ध हुनेबित्तिकै सेवा सुरु गरिने जानकारी दिए।
चिकित्सालयमा हाल बहिरङ्ग सेवासहित फिजियोथेरापी, प्रयोगशाला, पूर्वकर्म तथा पञ्चकर्म र अक्युपञ्चरलगायतका सेवा सञ्चालनमा छन्।
चिकित्सालयका सूचना अधिकारी अशोककुमार झाका अनुसार हाल दैनिक करिब दुई सय सर्वसाधारणले चिकित्सालयबाट उपचार सेवा लिइरहेका छन्।




