देश

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौँस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार प्रयास तथा सरकारको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ।

परराष्ट्र मन्त्रालयमा आयोजित ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

मन्त्री खनालले गत भदौ १० गते रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले केही मिनेटमै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाएर तल्लो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बताए । उनले उक्त बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै यस्तो प्रकृतिको विपद्को अनुभव हालसालैको स्मृतिमा नभएको बताए ।

बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको र त्यसबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका विभिन्न क्षेत्रमा जनजीवन र भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको उनले जानकारी दिए ।

मन्त्री खनालका अनुसार सरकारले विपद्को पहिलो दिनदेखि नै खोज, उद्धार, सुरक्षित स्थानान्तरण, उपचार तथा राहतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मन्त्रिपरिषद्का आकस्मिक बैठकमार्फत तत्काल राष्ट्रिय स्रोतसाधन परिचालन गरिएको उनले बताए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित सङ्घ, प्रदेश र स्थानीय तहका निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा स्थानीय समुदाय उद्धार तथा राहतमा परिचालित रहेको जानकारी दिँदै उनले २१ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएको बताए ।

विदेशी नागरिकको सुरक्षा तथा कल्याण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री खनालले परराष्ट्र मन्त्रालयले सम्बन्धित निकाय, विदेशस्थित नेपाली नियोग तथा बेपत्ता विदेशी नागरिकका परिवारसँग निरन्तर समन्वय गरिरहेको बताए ।

उनले भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, सिङ्गापुर, अस्ट्रेलिया, बेलायत, जर्मनी, मलेसिया, भूटान, बङ्गलादेश, क्यानडालगायत मित्रराष्ट्र तथा युरोपेली सङ्घ, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसङ्घलगायत संस्थाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

अन्तर्राष्ट्रिय सहयोग उद्धार विशेषज्ञता, उपकरण, लजिस्टिक, चिकित्सा तथा फरेन्सिक सहयोग र आर्थिक सहायताका रूपमा प्राप्त भएको उनले बताए । प्रभावित समुदायको स्थानान्तरण, अत्यावश्यक सेवा पुनःस्थापना तथा प्रभावित परिवारलाई सहायता उपलब्ध गराउन सरकारले तत्काल कदम चालेको उनको भनाइ छ ।

मन्त्री खनालले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताए । विस्तृत क्षति मूल्याङ्कनपछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक स्रोतबारे अन्तर्राष्ट्रिय साझेदारलाई जानकारी गराइने उनले बताए ।

मौद्रिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन भइरहेको जानकारी दिँदै उनले विपद्का नाममा हुन सक्ने ठगीबाट सचेत रहन र नक्कली क्युआर कोड, लिङ्क तथा खातामार्फत रकम नपठाउन आग्रह गरे ।

भोटेकोशी विपद्लाई तत्कालीन मानवीय सङ्कटका रूपमा मात्र नभई हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमसँग जोडेर हेर्नुपर्नेमा पनि मन्त्री खनालले जोड दिए । जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी तथा विपद् प्रतिरोधी पुनर्निर्माणलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

यसैबीच, मन्त्री खनालले भोटेकोशी बाढीको प्रभाव निश्चित भौगोलिक क्षेत्रमा मात्र सीमित रहेको र नेपालका अधिकांश क्षेत्र सुरक्षित तथा खुला रहेको स्पष्ट पारे । देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको उल्लेख गर्दै उनले काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण, सगरमाथा तथा बर्दियालगायत प्रमुख पर्यटकीय गन्तव्य पर्यटकका लागि खुला रहेको बताए ।

कूटनीतिक नियोगका प्रतिनिधिमार्फत आफ्ना नागरिक तथा सरकारलाई नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गर्दै उनले भने, “नेपाल खुला छ र हाम्रो देशले चिनिएको त्यही न्यानोपन र आतिथ्यताका साथ यात्रुहरूलाई स्वागत गर्न तयार छ ।”

ब्रिफिङको अन्त्यमा मन्त्री खनालले विपद्को कठिन घडीमा नेपाललाई प्राप्त अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गर्दै राष्ट्रिय स्रोतसाधन परिचालनसँगै अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यलाई निरन्तरता दिने बताए । “हामी सँगै अझ बलियो भएर उठ्नेछौँ,” उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *