काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछिको विपद् व्यवस्थापनप्रति चासो व्यक्त गर्दै शव व्यवस्थापनका क्रममा आफन्तको अनुमति नलिइएको विषयमा गम्भीर आपत्ति जनाएको छ।
पार्टीका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढीमा परी ज्यान गुमाएकाहरूको शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइएको गुनासो आएको बताएका हुन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले शव व्यवस्थापनजस्तो संवेदनशील विषयमा आवश्यक संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिए।
नेता आङदेम्बेले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीपछि फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि समेत गम्भीर चुनौती बन्दै गएको बताए। यस विषयमा आफूले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए।
स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँगको समन्वय र सुझावका आधारमा प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए।
उनले भने, ‘शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिएको विषय पनि गम्भीर रूपमा उठेको छ। भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा फैलिएको दुर्गन्ध पनि हाम्रो लागि ठूलो चुनौती बनेको छ। यी विषयमा मैले हिजो प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु।’
प्रधानमन्त्रीसँगको भेटपछि स्थानीय तहका नेता तथा सम्पर्कमा रहेका व्यक्तिहरूको सुझावका आधारमा नौबुँदे ध्यानाकर्षण गराइएको उनले बताए।
विपद्पछिको राहत, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक कदम चाल्न पार्टीले सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ।




