काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले सम्मेलनसँगै ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत गरिने जानकारी दिए।
महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा मुलुकको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
एकदिने सम्मेलनमा स्टार्टअप, लघु, साना तथा मझौला उद्यम (एमएसएमई/एसएमई) क्षेत्रमा कार्यरत महिला उद्यमीबीच अनुभव आदानप्रदान गरिनेछ। साथै लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक नेटवर्किङलगायत विषयमा छलफल हुनेछ।
सम्मेलनमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका विज्ञहरूको सहभागितामा तीनवटा विषयगत प्यानल छलफल सञ्चालन गरिनेछ।
त्यस्तै, ‘मेरो उद्यमशील यात्रा’ शीर्षकको स्टोरीटेलिङ सेसनमा सफल महिला उद्यमीहरूले आफ्ना अनुभव, संघर्ष र सिकाइ साझा गर्नेछन्।
कार्यक्रममा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी उपलब्ध गराउने केन्द्रसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। सम्मेलनमा १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
नेपाल महिला संघको सहकार्यमा हुने सम्मेलन सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।
सम्मेलनको समापनमा महिला उद्यमशीलतासम्बन्धी सुझाव, प्रतिबद्धता र आगामी कार्यदिशा समेटिएको घोषणापत्र सार्वजनिक गरिने आयोजकले जनाएको छ।




