काठमाडौँ। नागपञ्चमीका अवसरमा पशुपति क्षेत्रस्थित वासुकीनाथ मन्दिरमा भक्तजनले विशेष पूजा तथा आराधना गरेका छन्। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा बिहानैदेखि वासुकीनाथ मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको भीड लागेको थियो।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार वासुकीनाथ मन्दिरमा ३०० जना भक्तजनले कोषले तोकेको दक्षिणाको रसिद काटेर विशेष पूजा गरेका छन्।
चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबारसमेत परेकाले पशुपतिनाथ मन्दिरमा समेत भक्तजनको उल्लेख्य भीड लागेको थियो। बोल बम यात्री बिहान २ बजेदेखि नै दर्शनका लागि लाइनमा बसेका थिए।
पशुपतिनाथ मन्दिरका चार ढोका भने सोमबार बिहान ४ बजेदेखि खोलिएको थियो। मन्दिरमा पनि ३०० जना भक्तजनले रसिद काटेर विशेष पूजा गरेका छन्। वासुकीनाथ र पशुपतिनाथमा गरी एकै दिन ६०० भक्तजनले रसिद काटेर विशेष पूजा गरेको कोषले जनाएको छ।
सौरमासअनुसार साउनका चार सोमबार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका खोलिँदै आएको थियो। तर चान्द्रमासअनुसार परेको सोमबारका लागि छुट्टै व्यवस्था गर्ने वा नगर्ने विषयमा निर्णय नभएकाले सोमबार बिहान ४ बजेमात्र ढोका खोलिएको कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले बताए।
सौरमासअनुसार साउनका सोमबारमा जस्तै चान्द्रमासअनुसार परेको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको कोषले जनाएको छ। नेपालमा अधिकांश चाडपर्व चान्द्रमासअनुसार मनाइने भएकाले चान्द्रमासअनुसारको सोमबारमा पनि पशुपति क्षेत्रमा भक्तजनको भीड देखिएको हो।
चान्द्रमासअनुसार भदौ ८ गते सोमबार श्रावण महिनाको अन्तिम सोमबार परेको छ। उक्त दिन पनि आजकै हाराहारीमा भक्तजनको आगमन हुने अनुमान गर्दै कोषले आवश्यक तयारी गर्ने जनाएको छ।




