कर्णाली। सुर्खेतमा खाना पकाउने एलपी ग्यास लिन उपभोक्ताले दुई दिनसम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्लो एक सातादेखि ग्यास डिलरमा उपभोक्ताको भीड बढेपछि स्थानीयले राति २ बजेदेखि नै खाली सिलिन्डर लिएर लाइनमा बस्न थालेका छन् ।
ग्यास अभावका कारण कतिपय उपभोक्ता एक–दुई दिनसम्म कुरेर मात्र भरिएको सिलिन्डर लिएर घर फर्किने गरेका छन् । विगतमा सहजै ग्यास पाउने अवस्था रहे पनि पछिल्लो समय अभाव भएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–९ की भविका चौधरीले चार दिनसम्म लाइनमा बसेपछि बल्ल ग्यास पाएको बताइन् ।
‘चार दिनसम्म लाइनमा बस्दा बेलाबेलामा सासै बन्द होला जस्तो हुन्थ्यो । चुलो नबलेकाले यसबीचमा चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलाइयो । आज बल्लतल्ल ग्यास पाइयो । धेरै ठूलो युद्ध जितेजस्तो महसुस भएको छ,’ उनले भनिन् ।
चौधरीजस्तै अन्य स्थानीयले पनि ग्यास नपाउँदा लामो समयसम्म खाना पकाउन नपाएको बताएका छन् । यसबाट विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सहज पहुँच नभएका उपभोक्ता बढी प्रभावित भएका छन् ।
वीरेन्द्रनगर–९ का स्थानीय तीर्थबहादुर थापाले आइतबार बिहान ५ बजेदेखि खाली सिलिन्डर लिएर लाइनमा बसे पनि लामो समयसम्म पालो नआएको बताए ।
‘बेलुका खाली सिलिन्डर लिएर घर फर्केपछि भोलिपल्ट फेरि लाइनमा बस्न आउँछौँ । राति खाली सिलिन्डर सुरक्षाका लागि पाँच सय जनाले प्रतिव्यक्ति २० रुपैयाँ तिर्ने गरेका छन् । आज पनि ग्यास पाइन्छ कि पाइँदैन, थाहा छैन,’ उनले भने ।
यसैबीच, नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपककुमार घिमिरेले साउन १ देखि १० गतेसम्म वीरेन्द्रनगरबाट १७ हजार खाना पकाउने एलपी ग्यास वितरण भएको जानकारी दिए ।
‘यसअघि हरेक महिना २६ हजार ग्यास वितरण हुन्थ्यो । तर साउनको १० दिनमै १७ हजार एलपी ग्यास वितरण भएको छ । यो निकै ठूलो परिमाण हो । यस हिसाबले एक महिनामा ५१ हजार सिलिन्डर आवश्यक पर्ने देखिन्छ,’ उनले भने ।
घिमिरेले सुर्खेतमा एलपी ग्यासको वास्तविक अभाव नभएको दाबी गर्दै अनधिकृत बिक्रेताले विभिन्न स्रोतबाट ग्यास सङ्कलन गरी भण्डारण गरेको हुनसक्ने आशङ्का व्यक्त गरे ।
‘अभाव छैन, अभाव गराइएको छ । यसबाट आमनागरिक र पहुँच नभएका व्यक्ति मर्कामा परेका छन्,’ उनले भने ।
कालिकोट घर भई हाल सुर्खेतमा बस्दै आएका अपाङ्गता भएका व्यक्ति मनराज कठायतले दुई दिनसम्म ग्यास लिन जाँदा नपाएर खाली हात फर्कनुपरेको बताए । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरीलाई ग्यास वितरणमा प्राथमिकता नदिँदा थप समस्या हुने गरेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले लक्षित वर्ग तथा सबै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन प्रहरी प्रशासनको निगरानीमा वितरण भइरहेको बताए । ग्यास अभावको वास्तविक कारणबारे अध्ययन भइरहेको उनले जानकारी दिए ।




