काठमाडौं । अमेरिका र इरानबीचको तनाव थप चर्किँदै जाँदा अमेरिकी सेनाले होर्मुज जलडमरूमध्यसहितका रणनीतिक बन्दरगाह क्षेत्रमा नौसैनिक नाकाबन्दी पुनः लागू गरेको जनाएको छ। यससँगै मध्यपूर्वमा जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पर्ने र तेल–ग्यासको मूल्य थप बढ्न सक्ने चिन्ता बढेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजमा प्रस्तावित २० प्रतिशत शुल्कको योजना फिर्ता लिएको केही घण्टापछि अमेरिकी सैन्य कारबाही पुनः तीव्र भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानले होर्मुज जलमार्ग आफ्नो रणनीतिक नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ। इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकी नाकाबन्दीले विश्वव्यापी तेल तथा ग्यास निर्यातमा अवरोध सिर्जना गर्न सक्ने र आवश्यक परे अन्य समुद्री मार्गसमेत प्रभावित हुन सक्ने चेतावनी दिएको छ।
इरानी उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी कदमले शत्रुता अन्त्यका लागि भएको अन्तरिम समझदारीलाई कमजोर बनाएको आरोप लगाएका छन्। उनका अनुसार यसले शान्ति वार्ताको सम्भावनामा समेत नकारात्मक असर पारेको छ।
यता अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले व्यापारिक जहाज र नागरिक सुरक्षामाथि खतरा उत्पन्न गर्ने इरानी सैन्य क्षमतामा प्रहार गर्न तटीय क्षेत्रका विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केशम टापु र बन्दर इमाम खोमेनी आसपास विस्फोट भएका छन्। आक्रमणपछि बहराइनमा साइरन बजाइएको थियो भने कुवेत र जोर्डनले इरानबाट प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्र अवरोध गरेको बताएका छन्।
आईआरएनएका अनुसार इरानी सेनाले जोर्डनस्थित अमेरिकी लडाकु विमान रहेको सैन्य अड्डामा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। ट्रम्पले तेहरान वार्तामा नफर्किए अर्को सातादेखि ऊर्जा पूर्वाधार र पुलहरूलाई समेत निशाना बनाइने चेतावनी दिएका छन्।
इरानी रिभोलुसनरी गार्ड्सले अमेरिका आफ्नो सैन्य कारबाहीबाट पछि नहटेसम्म होर्मुज जलमार्ग बन्द रहने चेतावनी दोहोर्याएको छ।
सेन्टकम प्रमुख एडमिरल ब्राड कुपरले गत सातामात्र इरानले सातवटा व्यावसायिक जहाजमाथि आक्रमण गरेको र त्यसबाट करिब एक दर्जन चालक दलका सदस्यको मृत्यु भएको दाबी गरेका छन्। उनले समुद्री सुरक्षामा खतरा पुर्याउने गतिविधिप्रति इरानलाई जिम्मेवार ठहर गरिएको बताएका छन्।
यसैबीच, ओमानको तट नजिक नर्वेली तेल ट्याङ्करमा विस्फोट भएको तथा कुवेतको एक नौसैनिक जहाजमा पनि प्रहार हुँदा चार सैनिक घाइते भएको जनाइएको छ।
एएफपीका अनुसार पछिल्ला अमेरिकी आक्रमणमा इरानमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले थप आक्रमण गरे त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन्।




