चितवन। भरतपुर अस्पतालले बढ्दो बिरामीको चाप व्यवस्थापन गर्न चितवनका सबै स्थानीय तहमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि बढाएको छ।
अस्पतालले भरतपुर महानगरपालिका, राप्ती, कालिका, रत्ननगर, खैरहनी र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा आफ्ना विशेषज्ञ चिकित्सकमार्फत बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने तयारी गरेको हो।
यसअन्तर्गत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोष्टको स्थलगत निरीक्षण गरेका छन्। उनले उक्त हेल्थपोष्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए।
डा. बगालेका अनुसार भरतपुर महानगरपालिकाले सकारात्मक सहयोग जनाएकाले योजना छिट्टै कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ। उनले जिल्लाका सातै पालिकाका प्रमुख तथा उपप्रमुखसँग आवश्यक छलफल भइरहेको बताउँदै स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको उल्लेख गरे।
उनले पालिकाको लगानीमा सञ्चालित अस्पतालहरूमा भरतपुर अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकले सेवा दिन थालेपछि सामान्य तथा विशेषज्ञ उपचारका लागि भरतपुर अस्पताल धाउनुपर्ने बाध्यता कम हुने बताए। यसबाट अस्पतालले जटिल तथा अति विशिष्टिकृत उपचार सेवामा अझ बढी ध्यान केन्द्रित गर्न सक्ने उनको विश्वास छ।
डा. बगालेले स्थानीय तहहरूको पूर्ण सहयोग प्राप्त भए आगामी दुई वर्षभित्र भरतपुर अस्पतालमा आउने बिरामीको सङ्ख्या करिब आधाले घटाएर अस्पताललाई विशिष्टिकृत उपचार सेवामा केन्द्रित गर्न सकिने बताए।
हाल भरतपुर अस्पतालमा दैनिक करिब तीन हजार बिरामी बहिरङ्ग (ओपिडी) सेवाका लागि उपचार गर्न आउने गरेका छन्।




