चितवन।बर्डफ्लुको संक्रमणलाई लिएर उपभोक्तामा अन्योल बढिरहेका बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताएका छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. होमबहादुर बस्नेतले बर्डफ्लुको भाइरस काँचो मासुमा रहने भए पनि पर्याप्त तापक्रममा पकाउँदा नष्ट हुने बताए।
“राम्ररी पकाएको मासु र अण्डा खान सुरक्षित हुन्छ,” उनले भने, “तर काँचो मासु राखिएको भाँडा भने तातोपानीले राम्रोसँग सफा गरी संक्रमणमुक्त बनाउनुपर्छ।”
बर्डफ्लु विशेषज्ञसमेत रहेका बस्नेतका अनुसार पर्याप्त तापक्रममा भाइरस नष्ट हुने भएकाले पकाएको मासुबाट संक्रमणको जोखिम हुँदैन। बर्डफ्लु लागेको कुखुराले अण्डा नपार्ने र संक्रमण पुष्टि भएका कुखुरा सरकारले नष्ट गर्ने व्यवस्था भएकाले संक्रमित कुखुरा बजारमा पुग्ने सम्भावना न्यून रहेको उनले बताए।
उनले सरकारले क्षतिपूर्ति दिने व्यवस्था रहेकाले बर्डफ्लु देखिएमा किसानले तत्काल सम्बन्धित निकायलाई जानकारी दिई संक्रमित कुखुरा नष्ट गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले हाल चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको संक्रमण नरहेको जानकारी दिए। उनका अनुसार चितवनसहित २२ जिल्लाबाट नमूना परीक्षण हुने यस प्रयोगशालामा पछिल्लोपटक जेठ महिनामा संक्रमण पुष्टि भएको थियो।
डा. श्रेष्ठले पोल्ट्री फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न किसानलाई आग्रह गरे। कामदारले पञ्जा, बुट, एप्रोन र मास्कजस्ता सुरक्षा सामग्री प्रयोग गर्नुपर्ने तथा कुखुरा अस्वाभाविक रूपमा मर्न थालेमा तत्काल परीक्षण गराउनुपर्ने उनको सुझाव छ।
रोग पुष्टि भएका फार्मबाट अण्डा, कुखुरा र दाना बाहिर नलैजान उनले आग्रह गर्दै मानिसबाट मानिसमा बर्डफ्लु नसर्ने र मासु तथा अण्डा राम्ररी पकाएर खाँदा संक्रमणको जोखिम अत्यन्त न्यून रहने बताए।
उनका अनुसार बर्डफ्लुको भाइरस बाहिरबाट चराचुरुङ्गी, सवारीसाधन, दाना वा पानीमार्फत फार्ममा प्रवेश गर्ने भएकाले जैविक सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार बर्डफ्लुका कारण नष्ट गरिएका पोल्ट्रीजन्य सामग्रीमा सरकारले जिल्ला दररेटअनुसार ७० प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ।




