काठमाडौँ । उपत्यकाको सबैभन्दा लामो तथा प्रमुख जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो जात्रा मनाइँदै छ।
गुठी संस्थानका अनुसार जावलाखेलस्थित रथका चारै कुनाबाट हीरा, मोती, मणि–माणिक्य जडित भोटो प्रदर्शन गरिनेछ। कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
भोटो प्रदर्शनसँगै करिब तीन महिनादेखि सञ्चालन भइरहेको रातो मच्छिन्द्रनाथको रथयात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ। परम्पराअनुसार भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती लगिनेछ। छ महिनासम्म बुङ्मतीमा राखेपछि साइत हेरी पुनः पाटनस्थित मच्छिन्द्रबहाल ल्याइने चलन छ।
करिब १६ सय वर्ष पुरानो मानिने यो जात्रा कृषि, वर्षा र सहकालसँग जोडिएको छ। हिन्दू धर्मावलम्बीले रातो मच्छिन्द्रनाथलाई करुणामय गुरुका रूपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीले उनलाई पद्मपाणि अवलोकितेश्वरका रूपमा श्रद्धा व्यक्त गर्छन्।
भोटो जात्राको किंवदन्ती
लोककथाअनुसार नागराज कर्कोटककी रानीको आँखा निको पारेबापत एक किसानले मणिजडित भोटो उपहारस्वरूप प्राप्त गरेका थिए। पछि उक्त भोटो हराएपछि किसान र भोटो लगाएका एक व्यक्तिबीच स्वामित्व विवाद उत्पन्न भयो। विवाद समाधान हुन नसकेपछि तत्कालीन राजा वरदेवले प्रमाणसहित उपस्थित हुन आदेश दिए।
त्यसयता “यो भोटो कसको हो ?” भन्ने प्रश्नको प्रतीकस्वरूप चारैतर्फ फर्काएर भोटो देखाउने परम्परा सुरु भएको विश्वास गरिन्छ। यही परम्पराले आजको भोटो जात्राको स्वरूप लिएको मानिन्छ।
रातो मच्छिन्द्रनाथको रथयात्रा पुल्चोकबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गर्दै जावलाखेलमा पुगेर भोटो जात्रासँगै समापन हुने गर्दछ। यस वर्ष रथयात्रा वैशाख २५ गतेबाट सुरु भएको थियो।




