जलश्रोत/उर्जा

गोरखामा १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजना निर्माण सुरु

गोरखा । जिल्लाको धार्चे गाउँपालिका–५ स्थित माछाखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु गरिएको छ। १६ मेगावाट क्षमताको उक्त आयोजना वाटर इनर्जी डेभलपमेण्ट प्रालिले करिब ३ अर्ब रुपैयाँ लागतमा निर्माण गर्न लागेको हो।

केही दिनअघिदेखि निर्माण कार्य सुरु गरिएको आयोजनामा हाल सुरुङ खन्ने काम तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म करिब ७० मिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको आयोजनाका संस्थापक पुष्पराज आचार्यले जानकारी दिए।

उनका अनुसार आयोजनाको निर्माण ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाका लागि कृषि विकास बैंकको नेतृत्वमा तीन वटा बैंकले संयुक्त रूपमा लगानी गर्ने भएका छन्।

बाँध गोरखाको रेसे फाँटमा निर्माण भइरहेको छ। त्यहाँबाट करिब तीन किलोमिटर लामो सुरुङमार्फत माछाखोला बजार नजिकै निर्माण हुने पावर हाउसमा पानी पुर्‍याई विद्युत् उत्पादन गरिनेछ।

उत्पादित विद्युत् २२ किलोमिटर टाढा धादिङको बोराङस्थित सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ।

आयोजना निर्माणका लागि निजी तथा सार्वजनिक जग्गा व्यवस्थापनको काम पनि अघि बढाइएको छ। निर्माण कम्पनीले विभिन्न व्यक्तिको नाममा रहेको करिब १३ रोपनी जग्गा खरिद गरिसकेको छ भने केही सरकारी जग्गाको सट्टाभर्ना प्रक्रिया जारी रहेको जनाइएको छ।

आयोजनाले स्थानीय क्षेत्रमा ऊर्जा आपूर्ति सुदृढीकरण तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *