मुस्ताङ।उपल्लो मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–३ को समर गाउँ नजिक रहेको मानव निर्मित ऐतिहासिक समर गुफा र गिद्ध अवलोकन केन्द्र पर्यटकको प्रतीक्षामा छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले पछिल्लो समय समर गुफा र आसपासको क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिरहेको छ । एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलका अनुसार समर गाउँबाट करिब ९०० मिटर पैदल दूरीमा रहेको उक्त गुफासम्म करिब २० मिनेटमै पुग्न सकिन्छ ।
सयौँ वर्ष पुरानो मानिने तीनतले समर गुफामा करिब १५ कोठा रहेका छन् । यहाँका संरचनाले प्राचीन समयमा मानिसहरू गुफाभित्र आश्रय लिएर बस्ने गरेको संकेत गर्छन् । गुफाभित्र खाने–बस्ने क्रममा बनेका धुवाँका दागहरू देखिन्छन्, यद्यपि त्यहाँ ध्यान वा साधनासम्बन्धी प्रमाण भने फेला परेको छैन ।
जमिनको सतहदेखि करिब १२ मिटर उचाइमा चट्टान खोपेर निर्माण गरिएको उक्त गुफा लामो समयसम्म ओझेलमा थियो । पछिल्लो वर्ष पदमार्ग मर्मत, सुधार तथा स्तरोन्नति गरी समर गाउँदेखि गुफासम्म पुग्ने बाटो सहज बनाइएको छ । चालु वर्ष गुफा प्रवेशद्वारमा फलामे रेलिङ र करिब १२ मिटर अग्लो फलामे भर्याङ (भञ्ज्याङ) समेत निर्माण गरिएको छ ।
यसैगरी, गुफाबाट करिब डेढ किलोमिटर टाढा गिद्ध अवलोकन केन्द्र स्थापना गरिएको छ । बिहान र साँझको समयमा गिद्ध अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र अध्ययन तथा अनुसन्धानका लागि समेत महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको एक्यापले जनाएको छ ।
समर गाउँबाट गुफा र गिद्ध अवलोकन गरी पुनः गाउँ फर्किन करिब डेढ किलोमिटर दूरी तय गर्नुपर्छ । एक्यापले ओझेलमा परेका पर्यटकीय स्थलको पहिचान गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समर गुफा र गिद्ध अवलोकन केन्द्रलाई व्यवस्थित बनाउने काम अघि बढाएको जनाएको छ ।




