काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको देउवा समूहले महाधिवेशन गर्न लागेको भन्दै पठाएको पत्रलाई अभिलेखमा राखेको छ।
देउवा समूहका तर्फबाट शेरबहादुर देउवाले बुधबारदेखि सुरु हुने वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासहितको पत्र निर्वाचन आयोगमा पठाएका थिए।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलका गतिविधिसँग सम्बन्धित कुनै पनि पत्र प्राप्त भएमा आयोगले प्रशासनिक प्रक्रियाअन्तर्गत त्यसलाई दर्ता गर्ने गर्छ।
सोही प्रक्रियाअन्तर्गत देउवा समूहले गर्न लागेको महाधिवेशनसम्बन्धी पत्र पनि आयोगले दर्ता गरी अभिलेखमा राखेको हो।
‘निर्वाचन आयोगको काम दलसम्बन्धी विषय हेर्ने हो। त्यसैले कसैले पत्र पठाएमा प्रशासनिक रूपमा दर्ता हुन्छ। सोहीअन्तर्गत यो पत्र पनि अभिलेखमा राखिएको हो,’ घिमिरेले भने।
उनका अनुसार कांग्रेसको सम्बन्धमा आयोगले यसअघि नै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिइसकेको छ। यससम्बन्धी विवादको निरुपण सर्वोच्च अदालतबाट समेत भइसकेकाले अहिले आयोगले तत्काल कुनै निर्णय गर्नुपर्ने अवस्था छैन।
‘यो प्रशासनिक प्रक्रिया मात्रै पूरा भएको हो। आयोगले यो पत्रमा थप कुनै निर्णय गरेको होइन,’ घिमिरेले स्पष्ट पारे।
यसअघि विशेष महाधिवेशन गर्ने क्रममा गगन थापा समूहले पनि आफूहरूले महाधिवेशन गर्न लागेको जानकारीसहितको पत्र निर्वाचन आयोगमा बुझाएको थियो।




