काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उखु किसानको बाँकी भुक्तानी तत्काल गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले उखु किसानले चिनी मिलबाट पाउनुपर्ने भुक्तानी तथा सरकारले दिनुपर्ने अनुदान अझै नपाएको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न आग्रह गरे ।
सांसद सिंहले रोपाइँको सिजन नजिकिँदै गर्दा मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराए ।
त्यसैगरी उनले बागमती नदीको कटानका कारण सर्लाहीको बरहथवामा ५० हजारभन्दा बढी नागरिक विस्थापित हुने जोखिम रहेको भन्दै तत्काल रोकथामका लागि सरकारसँग पहल गर्न माग गरे ।




