जलश्रोत/उर्जा

विद्युत् प्राधिकरणद्वारा उद्योगहरूबाट प्रिमियम महसुल बक्यौता असुलीमा सफलता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने उद्योगहरूबाट लामो समयदेखि उठ्न नसकेको प्रिमियम महसुलको बक्यौता असुली प्रक्रियामा महत्वपूर्ण सफलता प्राप्त गरेको छ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङकाअनुसार पहिलो किस्ताको बक्यौता रकम अधिकांश उद्योगहरूबाट भुक्तानी भइसकेको हो ।

मन्त्री घिसिङका अनुसार, यसअघि राज्यले उठाउनुपर्ने यो महत्वपूर्ण महसुल बक्यौतालाई निस्तेज पार्न जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट सुनियोजित प्रयास भएको थियो । तर, आम नागरिक, सञ्चारमाध्यम र सरोकारवाला निकायहरूको निरन्तर चासो, निगरानी र खबरदारीका कारण यो असुली प्रक्रियाले अब ठोस परिणामतर्फ अग्रसर हुने मौका पाएको छ ।

‘हालको विषम परिस्थितिमा पनि देशप्रतिको आफ्नो दायित्वबोधका साथ बक्यौता रकमको किस्ता तिर्न सुरु गर्नुहुने सम्पूर्ण उद्योगी साथीहरूलाई हार्दिक धन्यवाद,’ मन्त्री घिसिङले आफ्नो पोस्टमा उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *