चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार सौराहास्थित सभा हलमा बिहान ८ बजेदेखि सुरु हुने बैठकका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना, र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना प्रस्तुत गर्ने छन्।
२१ र २२ कात्तिकसम्म सञ्चालन हुने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने भएकाले यसलाई राजनीतिक वृतमा महत्वपूर्ण रूपमा हेरिएको छ। बैठकमा केन्द्रीय समिति, सचिवालय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश सचिवालय, प्रतिनिधि सभा क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशस्थित पार्टी इकाइका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्।
बैठकमा प्रदेश सभापतिहरूले आफ्ना प्रदेशभित्रका संगठनात्मक अवस्थाबारे धारणा राख्ने बताइएको छ।
बैठकमा सहभागी प्रतिनिधिहरूका लागि खानाको व्यवस्था पार्टीले गरेको छ भने आवासको व्यवस्था सहभागीहरूले आफैं गर्नुपर्नेछ। दुई दिनको खाना र खाजाको खर्चका लागि प्रत्येक प्रतिनिधिबाट १,०५० रुपैयाँ उठाइएको छ।
आवासका लागि सौराहाका होटलहरूमा साधारण कोठाको एक हजार, मध्यम कोठाको दुई हजार, र सुविधा सम्पन्न कोठाको तीन हजार रुपैयाँ तोकिएको छ। बैठक व्यवस्थापनका लागि पूर्वसांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति तथा सात उपसमिति गठन गरिएको पार्टीले जनाएको छ।



