काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सङ्कट समाधानका लागि वामपन्थी र देशभक्त शक्तिबीच एकता भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी दलबीच भएको एकता राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै उनले यो एकता राष्ट्रिय पुनर्जागरणको अभियानको थालनी भएको बताए।
“पार्टी एकताले नयाँ राष्ट्रिय एकताको आधार तयार गरेको छ,” दाहालले भने। “यो केवल राजनीतिक सहकार्य होइन, राष्ट्रलाई संकटबाट उकास्ने ऐतिहासिक कदम हो।”
विगतका कमजोरीहरू सच्याउनैपर्ने आवश्यकता औंल्याउँदै उनले पार्टी नेतृत्व अब सुझाव र सामूहिक निर्णयका आधारमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। दाहालले कम्युनिष्ट आन्दोलनलाई एकढिक्का बनाउने अभियान अघि बढाउने घोषणा गर्दै भने, “राष्ट्र र लोकतन्त्रको रक्षार्थ कम्युनिस्ट, लोकतन्त्रवादी र राष्ट्रवादी सबै शक्तिबीच सहकार्य आवश्यक छ।”
उनका अनुसार, नेपाली कम्युनिस्ट पार्टीलाई देशको अग्रणी राजनीतिक शक्ति बनाउन देशव्यापी एकता घोषणा र चुनावी गतिविधि सञ्चालन गरिनेछ।
“आजको दिन कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक दिन हो,” दाहालले भने, “विभिन्न वैचारिक धारबाट गुज्रिएका १० घटकहरू एकैदिन एक ठाउँमा आएका छन्, यो एकता साँच्चै अभूतपूर्व छ।”




