कर्णाली प्रदेश

मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

मुगु। मुगुम कार्मारोङ गाउँपालिका–२ मा रहेको ६,१६९ मिटर अग्लो कोइकी हिमालमा पहिलो पटक सफल आरोहण भएको छ। यही कात्तिक ३ गते पाँच सदस्यीय टोली – चार अष्ट्रियाली र एक जर्मनीका आरोही – ले हिमालको शिखरमा पाइला टेकेका हुन्।

सफल आरोहीमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड रहेका छन्। आरोहणमा नेपाली शेर्पा पासाङ शेर्पा मार्गनिर्देशनमा सहभागी थिए।

स्थानीय समुदाय आरोहणको खबरले उत्साहित भएको छ। तुण्डुल तामाङले भने, “गाउँकै सामुन्ने रहेको हिमालमा पहिलोपटक मान्छे पुगेको खबरले हामी हर्षित छौँ। अब यहाँ अन्य आरोही पनि आउनेछन्।”

पूर्व वडाअध्यक्ष कार्मा तामाङले भने, “कोइकी हिमालको सफल आरोहणले मुगु मात्र होइन, देशकै पर्यटनको सम्भावना थपिएको छ। अब प्रचारप्रसारमा ध्यान दिन जरुरी छ।”

अष्ट्रियाली आरोही स्यान्द्रोले अनुभव सुनाउँदै भने, “यो हिमाल शान्त, सफा र सुन्दर छ। स्थानीयको माया र आतिथ्यले निकै प्रभावित बनायो। यहाँको प्रचार भए विदेशी पर्यटकको आकर्षण बढ्नेछ।”

रिजन ट्रेक प्रालिका मार्गनिर्देशक पासाङ शेर्पाका अनुसार, मार्ग सहज, रमणीय र सुरक्षित थियो।

कोइकी हिमाल पुग्ने मार्ग हवाई वा स्थलमार्गबाट सम्भव छ। हवाई मार्गमा नेपालगञ्जबाट रारा विमानस्थल, त्यहाँबाट जीपमा गमगढी पुग्न सकिन्छ। स्थलमार्गमा नेपालगञ्ज/कोहलपुरबाट सुर्खेत, दैलेख, कालीकोट हुँदै मुगुम पुग्ने व्यवस्था छ।

सफल आरोहणसँगै कोइकी हिमाल मुगुको पर्यटनको नयाँ सम्भावना बन्ने आशा गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *