बैतडी। बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। पछिल्लो तीन महिनामा जिल्लाका १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको कार्यालयका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले जानकारी दिए।
स्वास्थ्य कार्यालयका अनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी देखिएको हो। जिल्लाका अन्य स्थानीय तहमा भने हालसम्म सङ्क्रमण फेला परेको छैन। गत वर्ष बैतडीमा १०६ जनामा डेङ्गी पुष्टि भएको थियो।
डेङ्गी नियन्त्रणका लागि जिल्लाभर लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने भएकाले लामखुट्टाको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले ध्यानाकर्षण गराए।
डेङ्गीका लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने, साथै नाक, गिजा वा पेटबाट रगत बग्ने लक्षण देखिन सक्छन्। स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिएमा तत्काल डेङ्गी परीक्षण गराउन र चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न सबैलाई आग्रह गरेको छ।




