देश

काभ्रेमा तोडफोड–आगजनी घटनाको अनुसन्धान गर्दै प्रहरी

काभ्रेपलाञ्चोक। गत भदौ तेस्रो साता भएको जेनजी आन्दोलनका क्रममा जिल्लामा भएको तोडफोड र आगजनी घटनाको विशेष अनुसन्धान काभ्रेपलाञ्चोक प्रहरीले सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलमा परेको छ वटा निजी संरचनामा क्षति सम्बन्धी उजुरीपछि अनुसन्धान अघि बढाइएको हो।

प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन विष्टका अनुसार, इलाका प्रहरी कार्यालय बनेपा मार्फत तोडफोड, आगजनी र लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान भइरहेको छ। जाहेरीबाहेक सरकारी संरचनामा क्षति पुगेको र त्यसबारे अनुगमन, निरीक्षण तथा अनुसन्धान जारी छ।

प्रहरीले भने, “ठूला चाडबाडले केही समय सुस्ताए पनि अब अनुसन्धानलाई तीव्रता दिइनेछ। विभिन्न स्थानमा ध्वंसात्मक गतिविधि मच्चाउने र त्यसमा संलग्न व्यक्ति पहिचान गरी प्रमाणका आधारमा पक्राउ गर्ने योजना बनाइएको छ।”

गत भदौ २४ गतेको आन्दोलनका क्रममा बनेपा, पनौती र धुलिखेलमा जिल्ला कार्यालय, नगरपालिका भवन, प्रहरी कार्यालय, जनप्रतिनिधि र निजी घरमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो। यस क्रममा काभ्रेपलाञ्चोकका चार जनाले ज्यान गुमाएका थिए।

विशेषगरी बनेपा नगरपालिका कार्यालयमा आगो लगाउँदा महत्वपूर्ण कागजात र केही सवारीसाधन पूर्णरुपमा क्षति पुगेको थियो। इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा बिटमा पनि व्यापक क्षति पुगेको प्रहरीको रिपोर्टमा उल्लेख छ।

त्यस्तै, नेकपा एमाले र नेपाली कांग्रेसका कार्यालयहरूमा तोडफोड तथा आगजनी हुँदा ठूलो क्षति भएको छ। प्रदर्शनकारीले निजी घरहरूमा समेत तोडफोड र लुटपाट गरी महत्वपूर्ण कागजात जलेका हुन्।

यसैगरी, आन्दोलनको क्रममा विभिन्न कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरी जिल्ला कारागार धुलिखेल पठाएको छ। तत्कालीन समयमा बनेपा नगरपालिका–९ बाट आठ जनालाई ७३० राउण्ड गोलीसहित पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार, प्रमाणसहितको अनुसन्धानको आधारमा आगामी दिनमा थप पक्राउ र कारबाही हुने छ, र जेनजी आन्दोलनको समयमा भएको तोडफोड–आगजनीका घटनाहरूको विस्तृत तथ्याङ्क संकलन जारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *