काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित ढङ्गले सम्पन्न गराउने लक्ष्यसहित तयारी तीव्र पारिरहेको बताएकी छन्।
काठमाडौंको बसन्तपुरमा नेपाल संवत् विशेष समारोहलाई सम्बोधन गर्दै उनले भनिन्,“यो सरकार निर्वाचनको तयारीमा दत्तचित्त भएर लागेको छ। तर, त्यसको अर्थ भ्रष्टाचार र सुशासनका विषयमा हामी मौन बसेका छैनौं।” प्रधानमन्त्री कार्कीका अनुसार, विद्रोहपछिको अस्थिर वातावरणलाई सामान्य बनाउने र जनविश्वास पुनःस्थापित गर्ने प्रयत्नका रूपमा सरकारले राजनीतिक दल र जेनजी समुदायसँग दैनिक संवाद र समन्वय गरिरहेको छ। उनले भनिन्,“हरेक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा वार्ता भइरहेको छ। परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर सम्पर्कमा छौं। सरकार सबै पक्षलाई समेटेर अघि बढ्न चाहन्छ।”
सुशासन र भ्रष्टाचारविरुद्धको प्रतिवद्धता
प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीका कारण सुशासन र पारदर्शिताका मुद्दा ओझेलमा परेको भ्रम असत्य भएको स्पष्ट पारिन्।उनले भनिन्,“सरकार संविधानको मर्मअनुसार जेनजी आन्दोलनले उठाएको सुशासनको माग सम्बोधन गर्न प्रतिबद्ध छ। राज्यका संयन्त्रहरूलाई परिणाममुखी बनाउन ठोस कार्य अघि बढाइसकेका छौं।”उनका अनुसार, लोकतन्त्रलाई जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कार्य सरकारको दीर्घकालीन लक्ष्य हो, र त्यसका लागि कानुनी सुधार, प्रशासनिक जवाफदेहिता र सार्वजनिक वित्त व्यवस्थामा पारदर्शिता सुनिश्चित गर्न पहल भइरहेको छ।
प्रधानमन्त्रीले देशमा स्थिरता र विकासका लागि सबै राजनीतिक दल र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउँदै भनिन्,“निर्वाचन लोकतन्त्रको परीक्षा हो। यसलाई निष्पक्ष र विश्वसनीय बनाउन हामी सबैको साझा प्रयास अपरिहार्य छ।” कार्यक्रममा मन्त्रीहरू, विभिन्न समुदायका प्रतिनिधि, र नेपाल संवत् प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति थियो। समारोहमा नेपाल संवत्को ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे पनि चर्चा गरिएको थियो।




