राजनीति

नयाँ राजनीतिक विकल्पको खोजीमा ‘राष्ट्रिय जेनजी पार्टी’ दर्ता प्रक्रियामा

काठमाडौं । नेपाली राजनीतिमा नयाँ राजनीतिक विकल्पका रूपमा ‘राष्ट्रिय जेनजी पार्टी’ उदाउने तयारीमा छ। निर्वाचन आयोगमा आइतबार उक्त नाममा दल दर्ताका लागि निवेदन परेको छ। पार्टीका अध्यक्ष किरण विक -हिराप्रसाद सोती_ रहने उल्लेख गरिएको छ भने दर्ता नम्बर ५३९ रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

जेनजी आन्दोलनका सक्रिय अभियन्ता मानिने विकले नेतृत्व गर्ने यो दलले ‘क्रस खुकुरी’ निर्वाचन चिन्हको माग गरेको भए पनि आयोगले सो चिन्ह परिवर्तन गर्न सुझाव दिएको छ। पार्टीको संरचनामा उपाध्यक्ष मुना विक, महासचिव गोपाल आचार्य र सचिवमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान तथा होम श्रेष्ठ रहेका छन्। पार्टीको प्रारम्भिक केन्द्रीय समिति २१ सदस्यीय हुने जनाइएको छ तर सम्पूर्ण सदस्यहरूको नाम सार्वजनिक गरिएको छैन। पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा रहेको बताइएको छ।

जेनजी आन्दोलनबाट उदाएका युवाहरूले नयाँ राजनीतिक मोडेलका रूपमा प्रस्तुत गर्न खोजेको यो दलको दर्ता प्रक्रिया राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। विश्लेषकहरूका अनुसार यो पार्टीको उदयले हालको राजनीतिक समीकरणमा नयाँ बहस र प्रतिस्पर्धा सिर्जना गर्न सक्छ।

यसैगरी, सोही दिन निर्वाचन आयोगमा अर्को दल ‘नेपाल लिबरल पार्टी’ दर्ताका लागि पनि निवेदन परेको छ। उक्त दलले ‘सिक्का’ चिन्ह माग गरेको छ। आयोगले दुबै दलका निवेदन दर्ता गरे पनि अन्तिम निर्णय प्रक्रिया बाँकी रहेको जनाएको छ। नयाँ नाम र नयाँ नेतृत्वका यी दलहरूले स्थिरता र वैकल्पिक सोचको राजनीति स्थापना गर्न सक्ने कि पुनः पुरानै ढर्रामा सीमित हुने भन्ने प्रश्न अबको अभ्यासले मात्र उत्तर दिनेछ।

566501809_1328417055586626_2840166692544797033_n

 

551026050_1356405149410990_7973228008864791959_n

11

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *