काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबै व्यक्तिको सम्पत्ति निष्पक्ष रूपमा छानबिन गर्न आग्रह गरेका छन्।
प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गर्दै सुशासन र पारदर्शिताका पक्षमा सदैव दृढ रहेको बताए।
“म कुनै आवेग वा आक्रोशमा होइन, सत्य स्थापित होस् भन्ने चाहन्छु,” उनले भने, “हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ, देशमा समृद्धि, समानता र शान्ति कायम हुनुपर्छ भन्ने विश्वासका साथ म सधैं देश र जनताप्रति बफादार रहँदै आएको छु।”
ओलीले बेथिति, विकृति र भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने आवश्यकता औँल्याए। उनले जेनजी समूहले उठाएको शान्तिपूर्ण आन्दोलनमा बाह्य घुसपैठ भई धनजनको क्षति भएको दाबी पनि गरे।
“सत्यको पक्षमा बोल्दा अहंकार वा दम्भ ठान्न सकिन्छ,” उनले थपे, “तर हामी जनताको शान्ति, न्याय र लोकतन्त्रका पक्षमा कुनै सम्झौता नगरी अघि बढ्नेछौँ।”
निर्वाचनका लागि सहज वातावरण नरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले स्पष्ट रूपमा रहेको बताए।




