काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस पुस्तान्तरणको मात्र नभई रूपान्तरणको पक्षमा रहेको बताएका छन् ।
बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
जेन–जी पुस्ताले अघि सारेका मागहरूको सम्बोधन गर्दै विगतका आन्दोलनबाट प्राप्त अधिकारहरूलाई संस्थागत गर्ने पक्षमा काँग्रेस बलियोसँग उभिने उनको भनाइ छ । जेन जी बाहेकका पुस्तालाई पनि पार्टीमा गाँस्ने कुरामा काँग्रेसले ध्यान दिने बताए ।
उनले भने ‘नेपाली काँग्रेस पार्टीले जेन—जीको भावनालाई सम्बोधन गरेर उनीहरूको प्रतिनिधित्व बढाउने र उनीहरूको भावना बमोजिम अगाडि बढ्ने कुरा छँदै छ । गर्ने नै हो । जेनजी बाहेकका पुस्तालाई पनि पार्टीमा गाँस्ने कुरामा नेपाली काँग्रेसले ध्यान दिन्छ । त्यसकारण नेपाली काँग्रेस पार्टीले पुस्तान्तरणभन्दा पनि समग्रमा रूपान्तरण गर्छौँ । जुन हिसाबबाट पनि महाधिवेशन हुँदा रूपान्तरित काँग्रेस बनाउने कुरामा कुनै दुबिधा छैन ।’
मधेस प्रदेशको विकास लागि नेपाली काँग्रेसले नेतृत्व लिन जरुरी रहेको उल्लेख गर्दै उनले अब मधेसको नेतृत्व नेपाली काँग्रेसले लिने दाबी समेत गरे ।




