काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले आज सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानासहित उच्च पदस्थ अधिकृतले स्वागत गरेपछि मन्त्री सिन्हाले पहिलो निर्णयका रूपमा कानुनलाई नागरिकले सहजसँग बुझ्ने गरी भाषा, शैली र निर्माण प्रक्रियामा सुधार गर्ने कार्यलाई प्राथमिकता दिने घोषणा गरे।
पदबहालीपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले जेनजी पुस्ताले उठाएको सुशासन, भ्रष्टाचारमुक्त समाज र स्वदेशमै रोजगारी सिर्जनालाई सरकारको प्राथमिक कार्यसूचीमा राखिने बताए। उनले भने, “अहिले उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै जानुपर्छ। यो चुनावी सरकार भएकाले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु पहिलो प्राथमिकता हो। यसमा सम्झौता हुँदैन।”
निर्वाचनका लागि आवश्यक पर्ने कानुनी संशोधन वा परिमार्जन अध्यादेशमार्फत भए पनि गरिने स्पष्ट पार्दै मन्त्री सिन्हाले भ्रष्टाचार छानबिनसम्बन्धी आयोग गठनबारे आवश्यक छलफलपछि निष्कर्षमा पुगिने जानकारी दिए।
सर्वोच्च अदालतसहित विभिन्न अदालतमा भएको आगजनीका कारण मिसिलमा भएको क्षतिबारे उनले चिन्ता व्यक्त गर्दै सकेसम्म मुद्दासम्बन्धी कागजात पुनः संकलन गरेर फर्छ्योटलाई अघि बढाइने बताए। मन्त्री सिन्हाले भने, “यो ठूलो चुनौती हो तर कर्मचारीहरू लागिपरेका छन्। दसैँपछि कामलाई केही हदसम्म ट्र्याकमा ल्याउन सकिन्छ। तर पूर्ण रूपमा समाधान गर्न धेरै समय लाग्छ। हामी सबैलाई सकारात्मक दृष्टिले अगाडि बढाउने कोसिस गर्छौं।”




