जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट आएको सङ्घीयतासहितको वर्तमान संविधानको पूर्णपालना गरी देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन् ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधानलाई मुलुकको स्थायित्व र समावेशी विकासको आधारका रुपमा व्याख्यासमेत गरे । साथै उनले वर्तमान संविधानले सबै वर्ग, जातजाति, समुदायलाई कानुनी रुपमा समान अधिकार दिलाउनका लागि विशेष योगदान गरेकाले यसको सुरक्षा आवश्यक रहेको बताए।
सो अवसरमा मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको अधिकारलाई सुनिश्चित गरेको तथा सबैलाई समान अधिकार दिएको विचार व्यक्त गरीन् । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानले दिएको अधिकारमा रहेर सबैले मर्यादित भई आफ्नो अधिकारलाई पूरा गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिए। संविधान कार्यावन्यनमा सरकार तथा जनप्रतिनिधि दुवैले जिम्मेवारीपूर्वक तथा जनउत्तरदायी भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संविधानको सफल कार्यावन्यन तथा त्यसको पालनका लागि सुशासन र शान्तिसुरक्षा तथा उतरदायी सञ्चारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। समारोहमा विभिन्न राजनीतिक पार्टीका नेता, सांसद तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा कार्यालयका कर्मचारीको सहभागिता थियो ।




