काठमाडौँ ।पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन आफूले सहजीकरणको भूमिका खेलेको दाबी गरेका छन्।
संविधान दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ‘जेन–जी’ आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संविधान खारेज गर्ने र राष्ट्रपति संस्थामाथि पनि प्रहार गर्ने प्रयास भएको बताए।
उनले रातभर राष्ट्रपति, प्रधानसेनापति र अन्य राजनीतिक दलका नेताहरूसँग छलफल गरेर संविधान र राष्ट्रपति संस्थालाई जोगाउँदै अन्तरिम सरकार गठनका लागि सहजीकरण गरेको दाबी गरेका छन्। संविधान र राष्ट्रपतिको संस्था जोगाउनमा माओवादी केन्द्रको पनि ठूलो योगदान रहेको उनको भनाइ छ।
दाहालले ‘जेन–जी’ पुस्ताको आन्दोलनमा व्यवस्थाविरोधी शक्तिहरूले घुसपैठ गरेको पनि टिप्पणी गरेका छन्। उनले नेपालको सबैभन्दा ठूलो जेन–जी आन्दोलन माओवादी जनयुद्ध नै भएको दाबी पनि गरे।




