देश

उहिल्यै माओवादीले भनेको मानेको भए अहिले जेनजी आन्दोलन नै हुँदैनथ्यो : प्रचण्ड

काठमाडौं। संविधान दिवसको ११ औँ वार्षिकोत्सवका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको ऐतिहासिक योगदान र त्यसको महत्वलाई आत्मसात् गर्न सम्पूर्णलाई अपिल गरेका छन्।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँंडमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यसपटकको संविधान दिवस वर्तमान ‘जेनजी’ आन्दोलनले थप मौलिक र विशेष बनाएको बताए। उनले भने, “हामी यतिवेला ११ औँ संविधान दिवस मनाउँदै छौँ, यो जेनजी आन्दोलनका कारण उत्पन्न नयाँ राजनीतिक परिस्थितिको बीचमा मनाइँदैछ, यही नै यस पटकको मौलिकता र विशेषता हो।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्न करिब ७० वर्षभन्दा लामो संघर्षपूर्ण यात्रा तय भएको स्मरण गराए। यस क्रममा जनयुद्धले खेलेको महत्त्वपूर्ण भूमिका भुल्न नहुनेमा उनले जोड दिए।

उहाँले केही राजनीतिक शक्तिहरू दलित, महिला, मधेसी, कर्णाली, मेची, महाकाली लगायतका पहिचानसहितको समावेशी संविधान निर्माणमा नरहेको आरोप लगाउँदै वर्तमान संविधानलाई अझ प्रगतिशील बनाउने पक्षमा आफू रहेको दोहोर्‍याए। ठूला दलहरूको ‘अहंकार’का कारण अहिलेको राजनीतिक अवस्था सिर्जना भएको उनले विश्लेषण गरे।

प्रचण्डले संविधान निर्माण प्रक्रियामा आफूले ठूलो दबाब र धम्कीको सामना गर्नु परेको स्मरण गर्दै ऐतिहासिक उपलब्धि र परिवर्तनको रक्षा गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए। उनले संविधान दिवस केवल पर्व नभई नेपाली जनताको लामो संघर्षको प्रतिफल भएको उल्लेख गर्दै यसको रक्षा र थप परिमार्जनका लागि निरन्तर पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *