देश

‘नयाँ पुस्ताको चाहानअनुसार देश विकास हुनेछ’

काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले देशको विकास नयाँ पुस्ताको चाहना र आकाङ्क्षाअनुसार अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

एघारौँ संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी नयाँ पुस्ता र नयाँ वातावरणले ओतप्रोत संसद् निर्माण गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारले भ्रष्टाचार र अनियमितता गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन थालेसँगै सुशासनप्रति नागरिकमा नयाँ आशा जागेको बताए ।

संविधान जारी भएको एक दशक पूरा भएको सन्दर्भमा रेग्मीले संविधानले परिकल्पना गरेको भ्रष्टाचारमुक्त शासन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धि अझै गौण बनेको र अन्य अनपेक्षित घटनाले जनतामा निराशा र आक्रोश बढाएको टिप्पणी गरे । उनका अनुसार भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन नयाँ पुस्ताको निराशा र आक्रोशको अभिव्यक्ति थियो, जसले नेपालको राजनीतिक यात्रामा नयाँ मोड दिएको छ ।

रेग्मीले इतिहासदेखि नै नेपालको पहिचानका रूपमा रहेका सम्पत्ति, सम्पदा र धरोहरमा नोक्सानी हुनु दुःखद् भएको बताए । साथै, घटनामा भएको जनधनको क्षतिको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने जिम्मेवारी सरकारको हुने विश्वास पनि व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *