काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव सक्रिय रहने विश्वास व्यक्त गरेका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिका शुभकामना व्यक्त गरे । साथै, संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण र पूर्ण पालनामा सबैलाई प्रतिबद्ध हुन आह्वान गरे ।
अध्यक्ष दाहालले ‘जेनजी’ आन्दोलनले ल्याएको परिवर्तनसँगै तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूको नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको उल्लेख गरे ।
उनले संविधान निर्माण प्रक्रियामा जीवन आहुति दिने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते र अपाङ्गता भएका व्यक्तिप्रति सम्मान प्रकट गरे । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको स्मरण गर्दै उनले त्यस ऐतिहासिक दिनको सम्मानस्वरूप संविधान दिवसलाई हरेक वर्ष गौरवका साथ मनाइने बताए ।




