काठमाडौँ । नेपाली काँग्रेसले देशभर संविधान दिवस मनाउने जनाएको छ ।
पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।
उनले बुधवार सानेपास्थित पार्टी जेनजी प्रर्दशनकारीहरुको आगजनी, तोडफोडबाट खण्डहर बनेको पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै संविधान दिवस मनाउनका लागि आफूहरूले पार्टीको क्षेत्रीय कार्य समिति, जिल्ला सभापतिहरू, भ्रातृ संस्था, सभेच्छु संस्थाहरूलाई पनि संयमतापूर्वक संविधानलाई हातमा राखेर सबै जिल्लामा मनाउन निर्देशन दिइसकिएको बताए ।
संविधानको रक्षाका लागि दृढतापूर्वक संविधान दिवस मनाउने अभियानमा सरिक हुन पनि उपसभापति खड्काले सो अवसरमा सिङ्गो पार्टी पंक्तिलाई आह्वान गरे ।
उनले भने ‘हामीले कार्य सम्पादन समितिको बैठक ग¥यौँ । क्षेत्रीय कार्य समितिको बैठकहरू गर्यौँ । जिल्ला सभापतिहरूसँग जुम मिटिङ गर्यौँ । र हामी ३ गते ७७ वटा जिल्लामा जुनजुन जिल्लामा जुनजुन समिति छ । सबै ठाउँमा हाम्रो पार्टीको कार्य समितिहरू, भ्रातृ संस्थाहरू शुभेच्छुक संस्थाहरूलाई सबैलाई हामीले अनुरोध गरिसकेका छौँ । सबैले संयुक्त रूपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउने छलफल गरिसकेका छौँ । र तपाईँहरूमार्फत पनि म सबै पार्टीका क्षेत्रीय सभापति, जिल्ला सभापति लगायत सबै साथीहरूलाई ३ गते अत्यन्त संयमतापूर्वक, दृढतापूर्वक संधिाविन रक्षाको जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ । सबैलाई यही आह्वान गर्दछौँ ।’
नेपाली काँग्रेसले जेन जी प्रर्दशनकारीहरुको कुटपिटबाट घाइते भई उपचार गराइरहेका पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थामा पनि सुधार आइरहेको जनाएको छ । उपसभापति खड्काले सभापति देउवाको निर्देशनअनुसार पार्टी कामलाई अघि बढाउँदै लैजाने पनि बताए ।




