काठमाडौँ । आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही–३ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन निर्वाचन आयोगले स्थगित गरेको छ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते आम निर्वाचनको मिति तोकेपछि रुपन्देही–३ मा तोकिएको उपनिर्वाचन रोकिएको जानकारी दिएका हुन्।
निर्वाचन ऐन, २०७४ को दफा ६८ अनुसार आयोगले मिति २०८२ असोज १७ मा रुपन्देही–३ मा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो। तर राष्ट्रपतिको कार्यालयबाट २०८२ भदौ २७ गते प्रकाशित विज्ञप्ति अनुसार प्रतिनिधिसभा विघटन भएको र फागुन २१ गते नयाँ निर्वाचन गर्ने मिति तोकिएको हुँदा आयोगले उपनिर्वाचनसम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो।
यससँगै रुपन्देही–३ को उपनिर्वाचनका लागि सुरु भएका तयारी कार्य रोकिएको आयोगले जनाएको छ।




