देश

नेपालसँग श्रम सम्झौता भएका देशहरूमा हुलाक सेवा सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताएका छन्। हुलाक सेवा विभागले आयोजित वार्षिक प्रगति समीक्षामा मन्त्री गुरुङले हुलाकको व्यावसायिक सम्भावना ‘पार्सल डेलिभरी’ भएको उल्लेख गर्दै, विदेशमा रहेका नेपालीसम्म सेवा विस्तारका लागि आवश्यक कदम चाल्न आग्रह गरे।

मन्त्री गुरुङले सबै पालिकालाई डिजिटलाइजेसन गर्न र ‘स्मार्ट’ हुलाक कार्यालय सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले भने, “हुलाक अब स्मार्ट हुनुपर्छ, सूचना प्रविधिको अधिकतम उपयोग गरी समयअनुसार रुपान्तरण हुनुपर्छ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले हुलाक सेवालाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार निर्माण र अन्य सहयोगमा सदैव सकारात्मक रहेको पनि बताए।

सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले हुलाकको विगतको गौरवपूर्ण गाथा आत्मसात गर्दै यसलाई युगानुकूल बनाउन ऐन र कानुन परिमार्जन भइरहेको जानकारी दिइन्। हुलाकका महानिर्देशक मनमाया भट्टराई पँगेनीले सेवा स्मार्ट बनाउन प्रयासरत रहेको बताइन्। विभागका निर्देशक धव्रराज आचार्यले विभागको गतिविधिबारे विस्तृत जानकारी प्रदान गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *