काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा तयारी अन्तिम चरणमा पुगेको छ। पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिदेखि मञ्च व्यवस्थापनसम्मका अधिकांश काम पूरा भइसकेका छन्।
महाधिवेशन भदौ २० देखि २२ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुनेछ। यसमा २,३३३ प्रतिनिधिसहित २,३४९ जना सहभागी हुनेछन्। दसौँ महाधिवेशनका प्रतिनिधि नै सहभागी हुने भएकाले नयाँ प्रतिनिधि छनोट हुने छैन।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले सबै प्रतिनिधिलाई एसएमएसमार्फत निमन्त्रणा पठाइसकिएको र परिचयपत्र छपाइ पूरा भएको बताए। प्रतिनिधिले डिजिटल ढोकामा ‘क्यूआर कोड’ स्क्यान गरी मात्र प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ।
महाधिवेशनको आदर्श वाक्य ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ। राजनीतिक, साङ्गठनिक र विधान प्रतिवेदनसहित विभिन्न आयोग र परिषद्को प्रतिवेदन छपाइ भइरहेको छ।
ललितपुरको सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार तयार पारिएको छ भने मञ्च सजावट र हल व्यवस्थापन पनि अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।




