काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले आज आइतबार र भोलि सोमबारका लागि बोलाएको केन्द्रीय समितिको बैठकमा संरक्षक रेशम चौधरी पक्ष सहभागी नहुने भएको छ।
बैठक दिउँसो १ बजे काठमाडौंमा बस्नेछ। केन्द्रीय सदस्य दामोदर पण्डितका अनुसार बैठकमा केन्द्रीय समिति सदस्यहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक गर्ने, विधान संशोधन, समसामयिक विषय र अन्य विविध एजेन्डामाथि छलफल हुने छ।
तर रेशम चौधरी पक्षधर नेताहरूले बैठकमा नजाने स्पष्ट पारेका छन्। “हामी जाँदैनौं, अरु को को जान्छन् थाहा छैन,” रेशम पक्षका एक शीर्ष नेताले भने।
यसअघि रेशम चौधरी पक्षले अध्यक्ष रञ्जितालाई पदमुक्त गर्दै लालबीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो। तर निर्वाचन आयोगले भने रञ्जितालाई नै वैधानिक अध्यक्ष मान्य गरेको छ। यही कारण दुई पक्षबीचको विवाद झनै चर्किएको छ।




