देश

बोली–व्यवहार नरम बनाउनुस् : महानगर प्रमुख साह

काठमाडौँ। काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले राज्यका सुरक्षा संगठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

तेत्तिसौँ महानगर प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कानुन, नीति नियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगर प्रहरीलाई अनुरोध गरे ।

प्रमुख शाहले भने, ‘महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु ।’

उपप्रमुख सुनिता डङ्गोलले व्यक्ति विशेष नभई जनता र संस्थाको हितमा काम गर्न महानगर प्रहरी बललाई निर्देशन दिइन् । उनले भनिन्, ‘नागरिकको सुख दुःख, जात्रा, पर्वमा सधैँ जनतासँगै हुने महानगर प्रहरीले संस्थाको असल प्रतिनिधिका रूपमा काम गर्नुपर्छ ।’

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नेपाल प्रहरी र महानगर प्रहरी बलको सहकार्यमा अनधिकृत संरचना, अवरोध र सडक पेटीको अतिक्रमण हटाउने काम नतिजामुखी ढंगबाट भइरहेको बताए ।

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउने, विपद् र सवारी व्यवस्थापन गर्दै आएको बताए ।

महानगर प्रहरी बलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण, सडकमा छाडिएका चौपाया, अव्यवस्थित घर टहरा हटाउने तथा विपद् र ढल निकास व्यवस्थापन, बजार अनुगमन गर्दै आएको छ । महानगर प्रहरीले स्थापना दिवसका अवसरमा स्वयम्भूनाथ र वसन्तपुर दरबार क्षेत्रको सरसफाइका साथै महानगरपालिकाभित्रका विभिन्न स्थानमा वृक्षारोपणसमेत गरेको थियो ।

विसं २०५० भदौ १४ गते स्थापना भएको महानगर प्रहरी बलामा हाल ३६२ जना कार्यरत छन् । प्रहरी बलले गत वर्ष नियम उल्लङ्घन गरेका २० हजार ७३४ सवारीसाधन धनी र तोकिएका स्थानबाहेक अन्यत्र फोहर फाल्ने ३९७ जनालाई कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट महानगरलाई रु तीन करोड ५६ लाख प्राप्त भएको छ ।

त्यसअवसरमा यस वर्षको ‘महानगर प्रहरी गौरव’ पुरस्कार नगरप्रहरी वरिष्ठ निरीक्षक लक्ष्मी महर्जनलाई प्रदान गरिएको थियो भने ‘उत्कृष्ट महानगर प्रहरी पुरस्कार’ हवलदार बालकृष्ण कार्कीलाई र ‘महानगर प्रहरी पुरस्कार’ हवल्दारद्वय विजय तामाङ र मणिराम खनाल हवलदार तथा प्रहरी जवान फिलिपी सारु मगरलाई प्रदान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *