देश

निजी अस्पतालमा काम नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन

भेरीगंगा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यालय समयमा निजी अस्पताल वा मेडिकलमा काम नगर्न निर्देशन दिएको छ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालका अनुसार, कार्यालय समयमा सरकारी सेवामा रहेर निजी स्वास्थ्य संस्थामा काम गर्नु, विज्ञापन प्रकाशन वा प्रसारण गर्नु कानुन तथा नैतिकताविपरीत हुने भएकाले यस्तो गतिविधि नगर्न सबैलाई निर्देशन दिइएको हो।

स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले भने, “सरकारी चिकित्सकले अफिस समयमा निजी क्लिनिकमा काम गरेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो।”

मन्त्रालयका अनुसार, कर्णाली प्रदेशमा कार्यरत कर्मचारी/चिकित्सकको सेवा सुविधासम्बन्धी व्यवस्था, २०७६ अनुसार निजी स्वास्थ्य संस्थामा काम नगरेको स्वघोषणा गरेकालाई मात्र सेवा सुविधा प्राप्त हुन्छ। तर, पछिल्लो समय धेरैले स्वघोषणा नगरी निजी संस्थामा काम गर्दै सेवा सुविधा लिएको गुनासो बढेको छ।

अबदेखि कुनै चिकित्सक वा स्वास्थ्यकर्मीले यो नियम उल्लङ्घन गरे कानुनअनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नियमावली २०५५ तथा कर्णाली प्रदेश निजामती सेवा ऐन, नियमावली २०८० बमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *