काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी व्यवस्थापनमा दीर्घकालीन असमानता हटाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। लामो समयदेखि दुर्गममा सेवा गरेर बस्न बाध्य हुने र सुगममै टिकिरहने प्रवृत्ति अन्त्य हुने उनको भनाइ छ।
मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले दुर्गममा खटाइएका कर्मचारीलाई न्याय गर्नेगरी सरुवाको व्यवस्था अघि बढाइएको जानकारी दिइन्।
उनले वर्षौंदेखि दुर्गममा मात्र सेवा गर्ने र सुगममै स्थायी रूपमा अड्किरहनेहरूको नाम संकलन भइरहेको उल्लेख गर्दै, “अब त्यस्ता नामहरू सञ्चारमाध्यममार्फत सार्वजनिक गरिनेछ,” भनिन्। न्यौपानेले धेरै स्थानमा प्रमुख प्रशासकीय अधिकृत ९सीएओ० निमित्तकै भरमा कार्यालय सञ्चालन भएको तथ्य उजागर गर्दै भदौभित्र सबै ठाउँमा स्थायी सीएओ खटाइने व्यवस्था मिलाइएको बताइन्। “निमित्त प्रणालीलाई शून्यमा झार्ने गृहकार्य सुरु गरेका छौँ,” उनको भनाइ थियो।
उनले सेवामा सक्रिय नभई तलव मात्र खाने राष्ट्रसेवक कर्मचारीहरूलाई सह्य नहुने चेतावनी दिँदै, “सेवामा समर्पित नभएकाहरूलाई आवश्यक परे आर्थिक अधिकारसमेत कटौती गर्ने कठोर कदम चालिनेछ,” स्पष्ट पारिन्। मन्त्री न्यौपानेले अन्ततः दुर्गममा लामो समय सेवा गर्नेहरूलाई सुगममा ल्याउने र सुगममा अड्किरहेका कर्मचारीलाई अन्यत्र पठाउने व्यवस्था कार्यान्वयन हुने विश्वास दिलाइन्।




