काठमाडाैं।गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
आज मन्त्रालयमा आर्थिक वर्ष २०८२/८३ का लागि गृहसचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताए।
‘लागुऔषध, सडक दुर्घटना, साइबर अपराध, आत्महत्या यी विषय वर्तमान अवस्थाका नयाँ चुनौती हुन्। विशेष रूपमा काम भएको छ परिणाम आउन केही समय लाग्छ’, उनले भने, ‘यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ।’
पश्चिम नेपालमा भूकम्प र सोबाट हुनसक्ने विस्तृत क्षति आकलन गर्ने काम भइरहेको बताउँदै उनले चालु आवभित्र पुनःनिर्माण सक्नेगरी काम गर्न निर्देशन दिए।
गृहमन्त्री लेखकले गत आवमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकाप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे। ‘अहिलेको आवश्यकताअनुसार थप नयाँ काम के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस्’, उनले भने, ‘सीमित स्रोतसाधन, जनशक्ति र बजेटभित्र रहेर काम गर्नुपर्छ।’ कार्यसम्पादन सामूहिक काम भएको बताउँदै उहाँले जस/अपजस सामूहिकरूपले लिनुपर्नेमा जोड दिए।
मन्त्रालयको नेतृत्वमा आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधयेक अघि बढाइएको बताउँदै प्रतिनिधिसभामा केही प्रविधिक जटिलताका कारण रोकिएको गृहमन्त्री लेखकले बताए।
‘पाइपलाइनमा रहेका कानुन/विधयेक यो महिनाभित्र प्रतिनिधिसभामा दर्ता गर्ने काम अगाडि बढाउनुस्’, उनले भने, ‘मन्त्रालयको नीतिगत र कानूनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोहीअनुसार काम अघि बढेको छ।’




