देश

त्रिविमा शुल्क वृद्धि विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप, उपाध्यक्षसहित १६ विद्यार्थी पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरमा जारी शुल्क वृद्धि विरोधी आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै १६ विद्यार्थीलाई पक्राउ गरेको छ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले १९ दिनदेखि सञ्चालन गर्दै आएको रिले अनसनमा सोमबार प्रहरी हस्तक्षेप भएपछि झडपको स्थिति सिर्जना भएको हो।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवका अनुसार पक्राउ पर्नेमा संगठनका उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्यसहित १६ जना छन्। झडपका क्रममा कीर्तिपुर जिल्ला क्याम्पस कमिटीकी जिल्ला इन्चार्ज ममता जोशी घाइते भई अस्पताल भर्ना गरिएको छ।

अनसनरत विद्यार्थीहरूले उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यालयतर्फ प्रदर्शन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। यस क्रममा केही भौतिक संरचनामा तोडफोड भएको विश्वविद्यालय स्रोतले जनाएको छ।

अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ता लिनुका साथै विश्वविद्यालयका सबै कार्यक्रममा समान शुल्क लागू गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएको छ।

528926054_1284805743300098_4057918112743115489_n

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *