देश

संस्कार र संस्कृतिको संरक्षणमा जुटिँदै भोजपुरका नेवार समुदाय

भोजपुर।भोजपुरका नेवार समुदाय परम्परागत संस्कार र संस्कृतिको संरक्षणमा सक्रिय भइरहेका छन्। पछिल्ला वर्षहरूमा मौलिक परम्परा हराउने खतरा बढेपछि स्थानीयहरू लाखे नाचलगायत सांस्कृतिक गतिविधिमार्फत पहिचान जोगाउने प्रयासमा छन्।

स्थानीय चन्द्रप्रसाद श्रेष्ठका अनुसार, नेवार समुदायमा मादल, झ्याली, ढोलकसँगै ठाकठुके नाच बजाउँदै संस्कार नयाँ पुस्तासम्म पुर्याउने काम भइरहेको छ। लाखे नाच, गाईजात्रा, देगु पूजा, म्हः पूजा, येँया पुन्ही, योमरी पुन्ही, चथाःलगायत पर्वमा मौलिक बाजा र परम्परागत वेशभूषा प्रयोग गर्ने चलन रहेको छ।

नागपञ्चमीका दिन भीमसेन मन्दिरमा पूजा गरी सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट विधिवत रूपमा समापन गरिने जनाइएको छ।

नेवाः देय दवू भोजपुरका अध्यक्ष बद्री श्रेष्ठले आधुनिकतासँगै संस्कृतिको मौलिकता हराउँदै गएकाले युवापुस्तालाई सक्रिय बनाएर संरक्षणको काम भइरहेको बताए।

भोजपुर सदरमुकाम, टक्सार, दावाँ, दिङला बजारलगायत क्षेत्रहरूमा लाखे नाचसँगै गाईजात्रा, वैरागी जात्रा, रोपाइँ जात्रालगायत माध्यमबाट सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्ने परम्परा छ।

स्थानीय कमल प्रधानका अनुसार यस्ता जात्रा समुदायबीच एकता, सामाजिक चेतना र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *