देश

बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने , आजै शपथ ग्रहण

काठमाडौँ। बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। सत्ता गठबन्धनको फेरबदलपछि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ प्रदेशको छैटौँ मुख्यमन्त्री बन्ने निश्चित भएको हो।

बानियाँले सोमबार ६४ सांसदको समर्थनसहित मुख्यमन्त्री पदका लागि दाबी पेश गरिसकेका छन्। कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनमा उनले बहुमत सुनिश्चित गरेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) अनुसार आज दिउँसो २ बजेपछि बानियाँलाई नियुक्त गर्ने र अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

यसअघि गठबन्धनको नेतृत्व गरिरहेका कांग्रेस नेता बहादुर सिंह लामाले आन्तरिक मतभेदका कारण पदबाट राजीनामा दिएका थिए । १३ साउनमा संसदीय दलको नेतामा अल्पमतमा परेपछि लामाले १४ साउनमा बानियाँसँग प्रतिस्पर्धामा पराजित हुँदै दलको नेतृत्व गुमाएका थिए।

कांग्रेस र एमालेबीचको सहमतिअनुसार बानियाँले करिब ८ महिनासम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् भने आगामी फागुनमा एमालेले नेतृत्व पाउनेछ।

मुख्यमन्त्री बन्ने तयारीसँगै बानियाँले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। शपथपछि कांग्रेस र एमालेबाट केही मन्त्री नियुक्त गरिने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *