तुर्कमेनिस्तान । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं सांसद सूर्यबहादुर थापा क्षेत्रीले भूपरिवेष्टित विकासोन्मुख देशले सामना गरिरहेका चुनौती समाधान गरी निर्धारित समय सीमाभित्रै दिगो विकास लक्ष्य हासिल गर्न अवाजा कार्ययोजना सहयोगी बन्ने विश्वास व्यक्त गरेका छन् ।
तुर्कमेनिस्तानको संसद्, अतिकम विकसित राष्ट्रहरू, भूपरिवेष्टित तथा साना टापु विकासोन्मुख राष्ट्रसम्बन्धी उच्चस्तरीय प्रतिनिधिको राष्ट्र सङ्घीय कार्यालय र अन्तर–संसदीय सङ्घ (आइपियू) द्वारा आज तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजित विषयगत सत्रमा नेपालका तर्फबाट धारणा राख्दै उनले उक्त कार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्नु सांसदको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए ।
सांसद थापाले कार्ययोजना कार्यान्वयनमा भएका प्रगतिको अनुगमन, मूल्याङ्कन तथा समीक्षा गर्न एक संयन्त्र विकास गर्न र सरकारलाई ठोस कदम चाल्न प्रेरित गर्नुपर्ने सुझाव दिए । दिगो विकास लक्ष्य हासिल गर्न तथा देशको समग्र विकासका लागि शान्ति, सरकारप्रति जनताको विश्वास र जनउत्तरदायी संस्थाको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले नयाँ संविधान जारी गरेपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक–सामाजिक रूपान्तरणको युगमा प्रवेश गरेको जानकारी दिए ।
‘निर्धारित समयमै दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रयासरत छ । यी लक्ष्य प्राप्तिका लागि नेपालले आफ्ना समग्र सरकारी संयन्त्र र समाजको सम्पूर्ण सामथ्र्यको प्रयोग गरिरहेको छ’, सांसद थापाले भने, ‘हामी केही लक्ष्यप्राप्तिको दिशामा उन्मुख छौँ भने केहीमा अभाव र चुनौतीलाई परास्त गर्न विकास साझेदारबाट थप सहयोग र सहकार्यको आवश्यकता छ ।’
अवाजा कार्य योजनाको प्रभावकारी कार्यान्वयनबाट पनि दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) का संसद्को भूमिकालाई सशक्त बनाउन प्रमाणमा आधारित आवाज बुलन्द बनाउनुपर्नेमा जोड दिए । ‘एक समावेशी, जनउत्तरदायी र पारदर्शी शासनका लागि एलएलडिसीका सांसदहरूले नीति तथा कानुनी हस्तक्षेपमार्फत सामाजिक एकता, सहभागितामूलक निर्णय प्रक्रिया, स्रोतको समतामूलक वितरण र कानुनको शासन सुनिश्चित गर्नुपर्छ’, सांसद थापाले भने ।
एलएलडिसी तथा छिमेकी राष्ट्रबीच आपसी विश्वास, शान्ति र सहकार्य सुदृढ गर्न आइपियू तथा अन्य उच्चस्तरीय राजनीतिकलगायत क्षेत्रीय तथा विश्वव्यापी मञ्चको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
सांसद थापाले अवाजा कार्ययोजना कार्यान्वयन गर्न र सरोकार भएकाहरूसँग सहकार्य गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताए । दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्नु चुनौतीपूर्ण बन्दै गएको जनाउँदै उनले भूपरिवेष्टित तथा विकासोन्मुख राष्ट्र (एलडिसी) का लागि अवस्था अझ बढी कठिन बनिरहेको बताए ।




